नियम १२
कूटनीतिक राहदानी

(१) सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने देहायका पदाधिकारीलाई सम्बन्धित संबैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयबाट लेखी आएमा विभागले कूटनीतिक राहदानी जारी गर्नेछः–

(क) राष्ट्रपति,

(ख) उप–राष्ट्रपति,

(ग) प्रधानमन्त्री,

(घ) प्रधान न्यायाधीश,

(ङ) संविधानसभाका अध्यक्ष÷व्यवस्थापिका–संसदका सभामुख,

(च) उप–प्रधानमन्त्री,

(छ) मन्त्री,

(ज) व्यवस्थापिका संसदमा विपक्षी दलका नेता,

(झ) संविधानसभाका उपाध्यक्ष /व्यवस्थापिका–संसदका उपसभामुख,

(ञ) राज्य मन्त्री, राष्ट्रिया योजना आयोगका उपाध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानहरुका कुलपति,

(ट) सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य,

(ठ) सहायक मन्त्री, संविधानसभा/व्यवस्थापिका–संसदका सदस्य,

(ड) संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, संविधानसभा/व्यवस्थापिका–संसदका महासचिव,

(ढ) पुनरावेदन अदालतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानहरुका उपकुलपति,

(ण) नेपाल सरकारका सचिव वा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पुनरावेदन अदालतका न्यायधीश,

(त) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विशेष सेवाका विशिष्ट श्रेणी सरहका अधिकृतहरु,

(थ) नेपाली राजदूत, संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि, नियोग प्रमुख र निजका परिवार,

(द) जिल्ला विकास समितिका सभापनि (निर्वाचित), महानगरपालिकाका प्रमुख (निर्वाचित),

(ध) पराराष्ट्र मन्त्रालय र यस अन्तर्गतका विभाग वा कार्यालयमा कार्यरत राजपत्राङ्कित अधिकृत कर्मचारीहरु,

(न) नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिको राजकीय, औपचारिक तथा अनौपचारिक विदेश भ्रमण एवं उपराष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक तथा अनौपचारिक विदेश भ्रमणमा संलग्न हुने भ्रमण दलका सदस्य,

(प) नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम संयुक्त राष्ट्रसंघको साधारण सभा, विशेष सभा र सो संघको अन्य विशिष्टीकृत निकायको साधारण सभा, एसियाली विकास बैंकको साधारण सभा, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेकको शिखर सम्मेलन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शिखर सम्मेलनमा भाग लिन नेपाल सरकारको प्रतिनिधित्व गरी भ्रमण दलमा जाने सदस्य,

(फ) नियोगमा खटिई जाने नेपाल सरकारक कर्मचारी र निजका परिवारका सदस्य,

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “परिवारका सदस्य” भन्नाले “निजसंग बस्ने तथा निज आफैले पालन पोषण गर्नु पर्ने पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा वा विवाहित महिला कर्मचारीको हकमा निजको सासु, ससुरा सम्झनु पर्दछ ।”

(ब) नेपाल सरकारको प्रतिनिधित्व गरी विशेष नियोगमा खटिई जाने व्यक्ति, र

(भ) नेपाल सरकारका परराष्ट्र मन्त्रीस्तरीय निर्णयद्वारा कुनै खास प्रयोजनका लागि कूटनीतिक राहदानी दिने गरी तोकिएको व्यक्ति ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेश भ्रमणमा जान चाहने देहायका व्यक्तिले सम्बन्धित संवैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयको सिफारिस सहित कूटनीतिक राहदानी माग गरेमा विभागले पाँच वर्षको म्याद राखी कूटनीतिक राहदानी जारी गर्नेछ:–

(क) पूर्व राष्ट्रपति,

(ख) पूर्व उप–राष्ट्रपति,

(ग) पूर्व प्रधानमन्त्री,

(घ) पूर्व प्रधान न्यायाधीश,

(ङ) संविधानसभाका पूर्व अध्यक्ष / व्यवस्थापिका–संसदका सभामुख,

(च) पूर्व परराष्ट्र मन्त्री ।

(३) उपनियम (२) बमोजिमका कूटनीतिक राहदानी पाउने पूर्व पदाधिकारीले आफूसाथ भ्रमणमा आफ्नो पति वा पत्नी लैजान चाहेमा निजको पति वा पत्नीलाई सम्बन्धित संवैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयको सिफारिस भई आएमा निजलाई समेत विभागले बढीमा एक वर्षको अवधि कायम राखी कूटनीतिक राहदानी जारी गर्न सक्नेछ ।

(४) सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा कूटनीतिक राहदानी पाउने पदाधिकारीको पति वा पत्नी साथमा जानु पर्ने भएमा वा निजले साथमा लैजान चाहेमा भ्रमणमा जाने पदाधिकारी कार्यरत संवैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयबाट सिफारिस भई आएमा निजलाई समेत बढीमा एक वर्षको अवधि कायम राखी कूटनीतिक रहदानी जारी गर्न सकिनेछ ।

(५) संयुक्त राष्ट्र संघ वा सो संघको विशिष्टीकृत निकाय, एसियाली विकास बैंक लगायत सोही प्रकारका नेपाली सदस्य रहेको अन्य अन्तर सरकारी संगठनहरुमा सहायक महासचिव वा सो सरह वा सोभन्दा माथिको पदमा कार्यरत नेपाली नागरिक र निजको पति वा पत्नीलाई निज कार्यरत पदको पदावधि समेतलाई मध्यनजर गर्दै विभागले बढीमा पाँच वर्षसम्मको लागि कूटनीतिक राहदानी जारी गर्न सक्नेछ ।

(६) नेपालको तर्फबाट नियुक्त दक्षिण एशियाली क्षेत्रको सहयोग संगठन (सार्क) का महासचिव, विमस्टेकका महासचिव र निजको परिवारका सदस्यलाई निजको पदावधिभरको लागि विभागले कुटनीतिक राहदानी जारी गर्न सक्नेछ ।

(७) उपनियम (१) बमोजिम जारी हुने राहदानीको बहाल अवधि राहदानी बाहकको हाल कार्यरत पदको पदावधि वा सेवा समेतलाई ध्यानमा राखी विभागले निर्धारण गरे बमोजिम हुनेछ ।

(८) उपनियम (१) को खण्ड (न) र (प) बमोजिम भ्रमणमा सहभागी हुने भ्रमण दलका सदस्यलाई कूटनीतिक राहदानी जारी गर्दा सामान्यतया एक वर्षको म्याद राखी कूटनीतिक राहदानी जारी गरिनेछ र त्यस्ता भ्रमणमा सहभागी हुने भ्रमणदलका सदस्यमध्ये यो नियमावली बमोजिम कूटनीतिक राहदानी पाउने पदाधिकारी बाहेकका व्यक्तिले त्यस्तो भ्रमण समाप्त भएको मितिले पन्ध्र दिनभित्र आफ्नो नाममा जारी भएको कूटनीतिक राहदानी विभागमा फिर्ता गर्नु पर्नेछ । सो समयभित्र फिर्ता नगरेमा विभागले उक्त राहदानी रद्द गर्नेछ ।

(९) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, मन्त्रिपरिषद् वा परराष्ट्र मन्त्रीस्तरीय निर्णयद्वारा कूटनीतिक राहदानी दिने भनी निर्णय भएका व्यक्तिलाई विभागले एक वर्षदेखि पाँच वर्षसम्मको अवधि रहने गरी कूटनीतिक राहदानी जारी गर्न सक्नेछ ।

(१०) यस नियमावली बमोजिम कूटनीतिक राहदानी लिई विदेशमा कार्यरत रहेको व्यक्ति कार्यरत रहेकै बखत निजको पदावधि समाप्त हुने रहेछ भने निजको हकमा अवकाश हुने मितिमा बढीमा छ महिना थप गरी कूटनीतिक राहदानी जारी गर्न सकिनेछ । त्यस्तो सुविधा कूटनीतिक राहदानी प्राप्त गरी विदेशमा बसिरहेका निजको परिवारको सदस्य समेतलाई प्राप्त हुनेछ ।

(११) कूटनीतिक राहदानी जारी गर्दा कुनै दस्तुर लाग्ने छैन ।